काठमाण्डाै ।
राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
मनाङबाट निर्वाचित कांग्रेसका सङ्घीय सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो । यसपालि राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । मतदान केन्द्रभित्र मोबाइल लैजान नपाइने भएको छ ।
मतदान र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिनेछ । राष्ट्रपति पदको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।