उपचुनावका लागि आजदेखि दल दर्ता गर्न सकिने

काठमाण्डौ ।
आउँदो वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि आउँदो आइतबारसम्म दल दर्ता गर्न सकिने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको हो । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने निर्वाचन आयोगले उल्लेख गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको मुख्य कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले हिजो निकालेको सूचनामा उल्लेख छ ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ति निर्वाचन क्षेत्र रिक्त भएका छन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपचुनावका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको कार्यक्रम प्रकाशित गरिएको जानकारी दिनुभयो ।
त्यस्तै सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि चितवन–२ रिक्त हुन गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार