१.
दुखाइरहन्थ्यो घरीघरी निकाले जस्तो भयो।
क्या! सन्चो हुने गरी निकाले जस्तो भयो।
दिल दुखाउने एउटा मान्छे निस्कियो दिलबाट,
मृगौलाबाट पत्थरी निकाले जस्तो भयो।
२.
बनी साह्रै प्रचण्ड नगरेकै राम्रो।
अति पनि उद्दण्ड नगरेकै राम्रो।
नङ् पनि ठूलो भए काटिन्छ हेर,
सम्बन्धमा घमण्ड नगरेकै राम्रो।
३.
छैन पाल्ने सुर मैले पालेको छैन।
बुझिदिनुस् न हजुर मैले पालेको छैन।
तपाईंको भन्दा डाँको कमै हुन्छ मेरो,
पछाडि भुक्ने कुकुर मैले पालेको छैन।
४.
त्यतैतिर मेरो मन फर्किए नि हुन्थ्यो।
ती दिन, त्यो जीवन फर्किए नि हुन्थ्यो।
माटोकै होस् सिन्दुरले तिमी मेरी थियौ,
लाग्छ फेरि बालापन फर्किए नि हुन्थ्यो।
५.
पहिला लगाऔँ यसमा मन, पहिलो हुनुपर्छ।
अरू कामहरू त हुँदै गर्छन्, पहिलो हुनुपर्छ।
दुर्घटना भो उद्धारको काम त गर्दै गरौंला पछि
हाम्रो पार्टीको पत्रकार सम्मेलन पहिलो हुनुपर्छ।
६.
आफूतिरै तान्छ आफ्नो बनाइहाल्छ जिन्दगीलाई।
लाने काम हो लान्छ आफ्नो बनाइहाल्छ जिन्दगीलाई।
सुख र दुखले एक्का एक्का लडाइरहँदा आफू आफूमा,
कालले तुरुप हान्छ आफ्नो बनाइहाल्छ जिन्दगीलाई।
७.
लिएर होटलमा आश्रय खाजा खाँदै हुनुहुन्छ।
खर्च गरेर दुई चार सय खाजा खाँदै हुनुहुन्छ।
तपाईंको काम आज बन्दैन भोलि आउनुहोला,
हाकिम सापले यो समय खाजा खाँदै हुनुहुन्छ।
८.
बनाउनलाई प्रसन्न, जुस पिलाइ दिन्छन्।
आफू विश्वासिलो बन्न, जुस पिलाइ दिन्छन्।
पीडा पनि कस्तो मीठो गरी दिन्छन् मान्छे,
पिसाब बन्द गराइ टन्न जुस पिलाइ दिन्छन्।
९.
खै कसरी फेरिन्छ मन चुनाव हुने बेला।
गर्छन् आफूलाई परिवर्तन चुनाव हुने बेला।
अरू बेला नेतालाई भुत्ते सराप गर्नेहरू पनि,
नेता बनेर प्रचारमा हिँड्छन् चुनाव हुने बेला।
१०.
मसंगै रहन्थ्यो जो हर(प्रहर मेरो आफ्नै मित्र।
सुटुक्क लैजाँदो रहेछ खबर मेरो आफ्नै मित्र।
सुधारिदेला भनेर आफ्ना कमजोरी बताएँ मैले,
रहेछ आखिर शत्रुको गुप्तचर मेरो आफ्नै मित्र।
प्रकाश खनाल, अर्घाखाँची।