काठमाडौँ : नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष ०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रको आंकडामा नेपालमा हरेक वर्ष लगभग ६९ हजार जना नयाँ क्षयरोगका बिरामी थपिदा करिव १ लाख १७ हजार जना क्षयरोगीहरु नेपालमा रहेका छन्। यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गरिएकामा २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगका बिरामी पत्ता लागेका थियो।
केन्द्रका निर्देशक डाक्टर अनुज भट्टचनका अनुसार क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत रहेको छ।
यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान छ । नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको पनि केन्द्रले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार नेपालमा वार्षिक रुपमा करिव २ हजार २सय औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्। गत आर्थिक वर्ष २०७६/७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो। अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको डा भट्टचनले बताएका छन् । ।