३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

तिहारको पाचौँ दिन आज भाइटीका :११ बजेर ३७ मिनेटमा उत्तम साईत

काठमाण्डौ ।
यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका ।
भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उहाँले बताउनुभयो ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय,अश्वत्थामा,बलि,व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार