काठमाडौं ।
विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।
मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौंको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा बुधबार न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ,जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ ।