दाङ्ग ।
अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीले आगामी फाल्गुण मसान्त भित्र जिल्लाहरुका सम्मेलन गरिसक्ने भएको छ ।
हिजो बुधबार दाङको भालुवाङमा बसेको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।
आसन्न स्ववियू निर्वाचन र संगठनात्मक स्वरुपलाई व्यवस्थित बनाउनका लागि आगामी फाल्गुण १५ गते भित्र क्याम्पस र मसान्त भित्र जिल्ला सम्मेलन गर्ने गरी बैठकले निर्णय गरेको अनेरास्ववियूका प्रदेश अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।
क्याम्पस तथा जिल्ला सम्मेलन तोकिएको समय भित्र सम्पन्न गर्नका लागि प्रदेशका १२ वटै जिल्लाका इन्चार्ज तोकिएको प्रदेश कमिटी उपाध्यक्ष मनु अधिकारीले जानकारी गराइन ।
उपाध्यक्ष अधिकारीका अनुसार बाँके, बर्दिया, दाङको इन्चार्जमा अध्यक्ष टेकेन्द्र मल्ल, रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी उपाध्यक्ष छवि भट्टराई, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा र पूर्वी रुकुम दीपक अनुरागीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै बैठकले प्रदेशको कोषाध्यक्षमा कालीबहादुर डागीलाई जिम्मेवारी प्रदान गरेको छ । संगठन छाड्ने प्रताप घर्ती, भगौती यादव, डिआर भण्डारी लगायतलाई कारबाही गरिएको अधिकारीले बताइन् ।
बैठकले प्रदेश महिला विभागको प्रमुखमा उपाध्यक्ष मनु अधिकारी र सचिवमा सम्झना चौधरीलाई जिम्मेवारी दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सामाजिक र शैक्षिक मुद्धामा अनेरास्ववियू अग्रभावमा रहनुपर्नेमा जोड दिए । आसन्न स्ववियू निर्वाचनमा धेरै क्याम्पस जित्ने गरी लाग्न विद्यार्थी नेतालाई उनले निर्देशन समेत दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका चौधरीले विश्व कम्युनिष्ट आन्दोलनमा गलत चिन्तन विरुद्ध विद्रोह भएको र त्यो विद्रोह नै सफल हुँदै आएको स्मरण गरे । एकीकृत समाजवादी दक्षिणपन्थी विचार विरुद्ध विद्रोह गरी निर्माण भएको भन्दै यो पार्टीको भविष्य उज्जव रहेको उनले बताए ।