२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

फागुन पहिलो साता नेपाल–भारत सचिवस्तरीय ऊर्जा बैठक हुँदै

काठमाडौं ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठक आगामी ५ र ६ फागुनमा हुने भएको छ ।

नेपाल–भारतबीच सन् २०१४ मा भएको विद्युत् व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित जेएससीको १०औँ बैठक भारतको नयाँदिल्लीमा हुन लागेको हो । बैठकमा ऊर्जा सहसचिवस्तरीय छलफलसमेत हुनेछ ।

यसअघि जेएससीको नवौँ बैठक ११ र १२ फागुन ०७८ मा काठमाडौंमा भएको थियो । त्यसको एक वर्षपछि नेपाल–भारत ऊर्जा बैठक गर्न लागेको ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । ‘आगामी फागुनको पहिलो साता दिल्लीमा जेएससीको बैठक बस्ने पक्का भएको छ । त्यसमा अन्तरदेशीय प्रसारण लाइन तथा विद्युत् व्यापारलगायतका एजेन्डामा छलफल हुनेछ,’ उनले भने, ‘यद्यपि, बैठकमा नेपालबाट पेस हुने एजेन्डा फाइनल भइसकेको छैन । हाल एजेन्डा बनाउने काम भइरहेको छ ।’

समग्रमा विद्युत् व्यापार र पूर्वाधारको सुदृढीकरणबारे छलफल हुने उनको भनाइ छ । बैठकमा चार सय केभी क्षमताका इनरुवा–अनारमनी र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने प्रस्ताव नेपालले पेस गर्नेछ ।

नेपाल–भारतबीच चार सय केभी डबल सर्किट क्षमताका नौ अन्तरदेशीय प्रसारण लाइन बनाउने योजना छ ।
त्यसमा ढल्केबर–मुजफ्फरपुर सञ्चालनमा आइसकेको छ भने न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रियामा अघि बढेको छ । अबको चरणमा भने इनरुवा–अनारमनी र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको ऊर्जासचिव दिनेश घिमिरेले बताए ।नेपाल–भारतबीच नौवटा अन्तरदेशीय प्रसारण लाइन बनाउने योजना छ ।

यस्तै, नेपाल–बंगलादेश विद्युत् व्यापारमा आवश्यक पर्ने भारतको सहयोगबारे पनि बैठकमा छलफल हुनेछ ।
गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा बैठकमा कात्तिकभित्र नै बंगलादेशले नेपालबाट ५० मेगावाट विद्युत् किन्ने सहमति भएको थियो । तर, नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय समझदारी नहुँदा त्यो सफल हुन सकेन ।

यद्यपि, आगामी दिनमा भने नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्ने योजना छ । तर, त्यसमा भारतको सहयोग अपरिहार्य हुन्छ ।
सोहीअनुसार उक्त बैठकमा त्रिपक्षीय समझदारीका लागि दुवै देशले भारतसँग पहल गर्ने सहमति पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार