काठमाडौ / असार २१
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
बोर्डको उच्च सूत्रका अनुसार नतिजा प्रकाशन गर्न सबै तयारी पूरा गरिएको छ र आजका लागि बोर्ड बैठक डाकिएको छ । उच्च श्रोतका अनुसार जटिल कुनै समस्या नआए आज नतिजा सार्वजनिक गरिने छ ।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
बोर्डले लेटर ग्रेडिँग निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ ।