आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईलाई १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराउदै नेपालले नयाँ किर्तिमान बनाएको छ ।
नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा ७१ रनमै अलआउट भयाे । यूएईलाई कम रनमै राेक्न नेपालका ललित राजवंशीले ५ विकेट लिए । उनले ७ ओभर ५ बलमा २ मेडनसहित २० रन दिँदा ५ विकेट लिए । यस्तै सन्दीप लामिछानेले २ विकेट तथा साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले १/१ विकेट लिए ।
याे जितसँगै नेपालले आउँदाे चार वर्षका लागि एकदिवसीय क्रिकेटकाे मान्यता जाेगाएकाे छ ।
नेपालले यूएईलाई १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराउने क्रममा कीर्तिमान बनाएकाे छ । याे एकदिवसीय क्रिकेटमा नेपालकाे रनकाे आधारमा सबैभन्दा ठूलाे जित हाे । यसअघि नेपालले सन् २०२१ मा पपुवा न्युगिनीलाई १ सय ५१ रनले हराएकाे थियाे ।
यस्तै ७१ रनमा अलआउट भएकाे यूएईकाे याे सबैभन्दा कम याेगफल हाे । यसअघि यूएई सन् २०१८ मा विश्व कप छनाेटमा आयरल्यान्डसँगकाे खेलमा ९१ रनमा अलआउट भएकाे थियाे ।

