काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि खेल जित्नका लागि खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौमा आयोजना अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा हारजितको ठूलो महत्व रहने भन्दै कहिल्यै नहारेको नेपालले खेल पनि जित्नकै लागि खेल्नुपर्ने बताए ।‘लडाईमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्ने ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ?
प्रधानमन्त्री ओलीले जितका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव समेत दिए ।
पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएकोले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
सरकारले खेलकुद क्षेत्रको लगानीलाई उपलब्धीको रुपमा लिएको स्पष्ट पार्दै ओलीले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको टिप्पणी गरे ।
खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाएका ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयबारेको प्रश्नमा उनले सातै प्रदेशमा एक एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट प्रधानमन्त्रीको भनाई थियो ।
मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा ‘दुई बर्ष भईसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाए । कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाएमात्रै त्यसले राम्रो परिणाम दिने बताए ।
रातोपाटि अनलाइलमा प्रकासित समाचार