काठमाण्डौ –
राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोप सहित उजुरी परेपछि सम्पर्कविहीन भएका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।
नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउने छ ।
गत भाद्र ५ गते काठमाण्डौको एक होटलमा नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा उनि विरुद्ध २२ भदौमा गौशाला प्रहरीमा जाहेरी परेको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । त्यसपछि सम्पर्कबिहिन भएका सन्दिपले आइतवारमात्रै फेसबुकमा स्ट्याटस लेखेर आफू निर्दोष भएको र आफूलाई अपराधीको व्यवहार हुँदा मानसिक तनावको सिकार भएको र आइसुलेसनमा रहेको बताएका थिए ।