काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज आइतवार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । मूलपानी मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको थियो । आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३ ओभर २ बलमा ९६ रन बनाएर अलआउट भयो । गण्डकीका समीर कँडेलले ३९ रन बनाए । आर्मीका सुशन भारीले पाँच तथा कुशल मल्ल र शाहब आलमले दुई , दुई विकेट लिए । आर्मी समूह एु को तेस्रो र गण्डकी दोस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको दुई सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै दुई सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए । बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले दुई,दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले ८९, आकाश त्रिपाठीले ४५ र सन्दीप रिजालले ४४ रन बनाए । बलिङतर्फ प्रदेश १ का दीपक जोशीले चार र श्रवन यादवले दुई विकेट लिए । लुम्बिनी समूह बी को तेस्रो स्थानमा र प्रदेश १ चौथो स्थानमा रहेका छन ।
पीएम कप क्रिकेटमा लुम्बिनी र आर्मी विजयी
तपाईको प्रतिक्रिया