काठमाडौं ।
फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ ।
आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।
कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ ।अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।
विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ ।