आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुग्न सफल भएको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो ।
नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ह्याट्रिक सहित ५ विकेट लिए ।
यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २ २ विकेट लिए ।
१९ वर्षमुनिको विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।