आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा आज नेपालले पहिलो खेल नामिबियासँग खेल्दैछ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि लिग टुको पहिलो खेल हुनेछ ।
विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।
त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ ।
यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।
नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक सहित छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालीफायरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छ । त्यसैले नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्नुपर्नेछ ।
पूर्व कप्तान तथा नेपाली टिमका अनुभवी सदस्य ज्ञानेन्द्र मल्लले कम्तीमा तीन खेल जित्ने लक्ष्य रहेको नामिबियाबाट बताएका छन् ।
नयाँ कप्तान, नयाँ प्रशिक्षक अनि ७ खेलाडी परिवर्तन गरिएको टिम सहित नेपाल यस पटक नामिवियामा पुगेको छ ।
पछिल्लो पटक जुलाईमा स्कटल्याण्डमा खेलेको नेपाली टिम र अहिलेको टिममा ७ खेलाडी परिवर्तन भएका छन् । त्यसैले नामिबियामा नेपालको प्रदर्शन कस्तो होला भन्ने चासो छ ।